पुष २०, गोरखा ।
गोरखा नगरपालिका भित्रका शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षक तथा प्राध्यापकहरूबीच आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधि रत्नराज्य माध्यमिक विद्यालय, बिरेन्चोकले जितेको छ।
वडा नं. ९ स्थित महालक्ष्मी माध्यमिक विद्यालय, लक्ष्मीबजारको आयोजनामा मिति २०८२ पौष १८ र १९ गते सम्पन्न उक्त प्रतियोगितामा रत्नराज्य माविले प्रथम स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा गोरखा क्याम्पस, गोरखा दोस्रो भएको छ भने आयोजक महालक्ष्मी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय, कुन्दुरले तृतीय स्थान हासिल गरेका छन्। दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
नवराज पाण्डे उत्कृष्ट खेलाडी
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोरखा क्याम्पसका क्याम्पस प्रमुख नवराज पाण्डे ‘उत्कृष्ट खेलाडी’ घोषित हुनुभएको छ। उहाँलाई नगद १ हजार रुपैयाँ प्रदान गरिनुका साथै एक टेलरिङ व्यवसायीको तर्फबाट उपहारस्वरूप एक जोर सुटिङ-सर्टिङ नि:शुल्क सिलाइदिने घोषणा गरिएको आयोजकले जनाएको छ।

मनोरञ्जन र प्रतिभा प्रस्फुटनको उद्देश्य
वर्षभरि पठनपाठनमा व्यस्त रहने शिक्षक तथा प्राध्यापकहरूलाई मानसिक स्फूर्ति र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले खेल आयोजना गरिएको महालक्ष्मी माविका प्रधानाध्यापक टेकबहादुर उपरकोटीले जानकारी दिनुभयो। “शिक्षकहरूको प्रतिभा प्रस्फुटन गराउने यो एउटा राम्रो अवसर पनि हो,” उहाँले भन्नुभयो।
प्रतियोगितामा गोरखा नगरपालिका भित्रका क्याम्पस, निजी तथा सामुदायिक विद्यालयका गरी कुल १६ टिमको सहभागिता रहेको थियो।
वडाध्यक्ष कुल बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेश मैनाली, गोरखा नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्का लगायतले खेलकुदको महत्त्वबारे मन्तव्य राख्नुभएको थियो।
